एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश क्लब लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले अर्को इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाई ४ – १ ले हराएको हो ।
अमेरिकाको मिसिगनमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, ड्यानियल स्टुरेज, शेई ओजो र जाड्रन शाकिरीले एक/एक गोल गरे । म्यानचेस्टर युनाइटेडका आन्द्रेस पेरीयराले एक गोल फर्काए ।
सिसिगन स्टेडियममा पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै लिभरपुलले सहज जित निकालेको हो । खेलको २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा युनाइटेडका पेरीयराले गोल गरेपछि खेल पहिलो हाफमा १ – १ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा लिभरपुलका लागि तीनै गोल सब्सिच्युड खेलाडीले गरे । खलेको ६६ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई २ – १ को अग्रता दिलाए । त्यसपछि ७४ औं मिनेटमा ओजो र ८२ औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । शाकिरीले एक्रोब्याटिक सटमा उत्कृष्ट गोल गरेका थिए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न युनाइटेड र लिभरपुल अमेरिकामा रहेका छन् ।