काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले टी-१० क्रिकेट लिगमा आबद्द हुन पाउँदा निकै खुशी भएको बताएका छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० फ्रेन्चाइज लिग क्लब टिम आबु धाबीमा अनुबन्धित भएपछि पारसले लिगको एक हिस्सा हुन पाउँदा धेरै खुशी भएको बताए ।
'टी-१० लिगमा आबु धाबीबाट एक हिस्सा हुन पाउँदा निकै खुशी छु,' पारसले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । यस्तै पारसले आफ्नो जन्म दिनमा शुभकामना दिनेहरुलाई धन्यवाद दिएका छन् ।
हालै कप्तानीबाट राजिनामा दिएका पारस १० हजार अमेरिकी डलरमा टिम आबु धाबीमा अनुबन्धित भएका हुन् । टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।
यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।
टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् ।
आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।