काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ग्राउण्ड बनाउने कार्य सुरु भएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले बिहिबारबाट रंगशालाको ग्राउण्ड बनाउने कार्य सुरु भएको जनाएको छ । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएसँगै ग्राउण्ड सम्माउने काम सुरु भएको हो ।
फाउण्डेशनले बुधबार रंगशालाको डिपिआर सार्वजनिक गरेको थियो । डिपिआर अनुसार रंगशाला निर्माणको लागि २ अर्ब ६० करोड रुपैयाँ बजेट लाग्ने देखिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ ।
रंगशालासंगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।
तस्बिर -धुर्मुस सुन्तली फाउण्डेशन