काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को फाइनलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई जितका लागि ११३ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।
चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।
यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् ।
काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १/१ विकेट लिईन् ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।