काठमाडौं । वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को टिम डब्लुसीएल-११ ले मैत्रीपूर्ण टी-१० खेलमा जित निकालेको छ ।
डब्लुसीएलको फाइनलअघि बिहिबार भएको मैत्रीपूर्णमा डब्लुसीएल-११ ले नेपाल खेलकुद पत्रकार (मञ्च) लाई ७ विकेटले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा मञ्चले दिएको ९६ रनको लक्ष्य डब्लुसीएल-११ ले ९ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो ।
डब्लुसीएल-११ का छुम्बी लामाले सर्वाधिक २८ रन बनाए । पूर्व राष्ट्रिय खेलाडी प्रफुल्ल बैद्यले २७ रन बनाए । मञ्चका लागि कप्तान देवेन्द्र सुवेदीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मञ्चले १० ओभरमा ६ विकेटको क्षतिमा ९५ रन बनायो ।
मञ्चका लागि बिभु श्रेष्ठले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
डब्लुसीएलको टिमबाट पूर्व राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर र अफिसियलहरु रहेका थिए ।