काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल)को उपाधिको छिनोफानो आज (बिहिबार) हुदैछ ।
पहिलो महिला फ्रेन्चाईज लिगको उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ भने चितवनको नेतृत्व ईन्दु बर्माले गर्नेछिन् ।
प्रतियोगिताको अपराजित टिम चितवन सोही लयलाई कायम राख्दै प्रतियोगिताको उपाधि उचाल्ने दाउमा छ ।
तर चितवनसंग पहिलो खेल गुमाएर उत्कृष्ट पुनरागमन गरेको काठमाडौं समेत उपाधि भिडन्तमा आफुलाई आफुलाई प्रमाणित गर्ने प्रयास गर्नेछ ।
चितवनकी कप्तान ईन्दु बर्माले उपाधि जित्नेमा आफ्नो टिम विश्वस्त रहेको बताईन् ।
उनले काठमाडौं बलियो टिम भएपनि लिग चरणको नतिजा फाईनल खेलमा समेत दोहर्याउने दाबी गरिन् ।
लिग चरणमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।
काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले दुवै टिम राम्रो रहेको बताउँदै पहिलो खेलमा गरेको गल्तीलाई सच्चाउँदै उपाधि जित्ने दाबी गरिन् ।
उनले खेलाडीका जितको भोक रहेको बताउँदै राम्रो खेल प्रर्दशन गरेर उपाधिमा जित्नेमा आशावादी रहेको बताईन् ।
क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।