काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको महिलाको फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको फाइनल बिहिबार हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा भिड्दै छन् - क्याट क्विन्स काठमाडौं र चितवन राइनोज । खेल बिहान ११:३० मा सुरु हुनेछ ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेकी रुबिना क्षेत्रीको कप्तानीमा रहेको काठमाडौं र राष्ट्रिय टोलीका सदस्य इन्दु बर्माको कप्तानीमा रहेको चितवन दुवै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
दुवै टिम डब्लुसीलको पहिलो विजेता बन्न चाहन्छ । उपाधि जित्नेमा दुवै टिमका कप्तान समेत आत्मविश्वासी देखिएका छन् ।
'उपाधि जित्छौ भन्नेछ । विपक्षि टिम राम्रो भएपनि हामी बलियो छौँ जस्तो लाग्छ किनकि हामीसँग उनीहरु पराजित भईसकेको छ,' फाइनलअघि चितवनकी कप्तान इन्दु भन्छिन्, 'फाइनल कस्तो हुन्छ त्यो भोलि नै थाहा हुन्छ । तर, भोलि जित्नका लागि खेल्छौं र जित्छौं पनि ।'
चितवन जारी लिगको अपराजित टिम हो । र, बिहिबार अपराजित रहदै चितवन च्याम्पियन बन्न चाहन्छ । लिगको चार खेलमा ४ जित निकालेको चितवन शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।
यता, पहिलो खेलमा पराजय व्यहोरेपनि उत्कृष्ट पुनरागमन गर्दै काठमाडौंले फाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो ।
तर, काठमाडौंले त्यसपछिको तीन खेल जित्दै दोस्रो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाएको थियो । इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौंले चितवनसंगको भेट पक्का गरेको थियो ।
फाइनलमा काठमाडौं चितवनसँग पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । चितवनविरुद्ध बदला लिन टिमले उत्कृष्ट खेल्ने काठमाडौंकी कप्तान रुबिना बताउछिन् ।
'दुवै टिम राम्रो छ । पहिलो खेलमा हरेको कारणले त्यसलाई सच्चाएर उत्कृष्ट टिम बनाउने छौँ । हाम्रो टिम जित्ने भन्दा पनि राम्रो खेल खेल्न ध्यान दिनेछौँ,' फाइनलअघि कप्तान रुबिनाले भनिन्, 'हामीले हारेपछि राम्रो खेलेका छौं । खेलाडीमा जितको भोको रहेको छ ।'
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।