एजेन्सी । पाहुना टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेष्ट सिरिजमा भारतले क्लिन स्विप गरेको छ ।
राँचीमा मंगलबार तेस्रो तथा अन्तिम टेष्टमा दक्षिण अफ्रिकालाई एक इनिङ्स २०२ रनले पराजित गर्दै भारतले सिरिज ३-० ले जित्दै क्लिन स्विप गरेको हो ।
भारतविरुद्ध फलो अनमा परेको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १३३ रन जोड्दा अलआउट भयो । यसअघि पहिलो इनिङ्समा १६२ रन जोड्दा अलआउट भएपछि भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको थियो ।
तर, दोस्रो इनिङ्समा पनि दक्षिण अफ्रिकाले उच्च प्रदर्शन गर्न सकेन् । दोस्रो इनिङ्समा थुनिस डी ब्रुयनले सर्वाधिक ३० रन जोड्दा जर्ज लिन्डेले २७ रन बनाए । यस्तै डेन लोरीले २३ रन जोडे ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मोहमद शामीले ३ विकेट लिए । यस्तै शाहबाज नादीम र उमेश यादबले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९७ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका लागि रोहित शर्माले ११२ रनको दोहोरो शतकीय इनिङ्स खेले । भारतका रोहित प्लेयर अफ दि सिरिज समेत चुनिए ।
यस्तै अजिन्का रहानेले ११५ रनको शतकीय इनिङ्स खेले ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज जितेसंगै भारतले च्याम्पियनसिपको तालिकामा शीर्ष स्थान यथावत राखेको छ । च्याम्पियनसिपको पाँच खेलमा ५ जित निकालेको भारतले २४० अंक पाएको छ ।