दार्चुला । महाकाली नगरपालिका वडा नम्बर १ छापरीले पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटको उपाधि जितेको छ ।
सकार क्रिकेट मैदानमा भएको फाइनलमा ब्यास गाउँपालिका वडा नम्बर ६ हुतीलाई ८६ रनले पराजित गर्दै छापरी च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको छापरीले निर्धारित २० ओभरमा २ सय ४० रनको विशाल स्कोर खडा गरेको थियो । छापरीका विरेन्द्र कार्कीले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनले ४ चौका र १३ छक्काको मदतले १ सय ३ रन बनाए ।
छपारीले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको ब्यास १७ ओभरमा अलआउट हुदै १ सय ५४ रनमा समेटियो । ब्यासका लागि केशरसिह खातीले ३७ रन बनाए ।
उपाधिसँगै छापरीले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ । उपविजेता बनेको ब्यासले ४४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्यो ।
प्रतियोगितामा छापरीका विरेन्द्र कार्की म्यान अफ द सिरीज घोषित भए । उनले ६ हजार ६ सय ६६ नगद प्राप्त गरे ।
त्यस्तै छापरीकै पारस कार्की बेष्ट बलर, दुहुका दिब्यासु बम बेष्ट ब्याट्सम्यान र दुहुकै पारस कार्की इमर्जिङ प्लेयर घोषित भए । उनीहरुले जनही २ हजार ५ सय रुपैया प्राप्त गरे ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो ।