काठमाडौं । नेपाल र बेलायतबीचको सम्बन्धले दुई सेन्चुरी पार गरिसकेको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापित भएको २ सय २ बर्ष पुगिसकेको छ ।
यो हिसाबमा नेपाली क्रिकेट र बेलायती क्रिकेटबीच गहिरो सम्बन्ध हुनुपर्ने हो । तर, क्रिकेटमा नेपाल र बेलायतबीचको नाता ठिक उल्टो छ । भनौ, नेपाल र बेलायतको क्रिकेट नाता बल्ल जोडिदै छ ।
नेपाल र बेलायती क्रिकेटबीचको नातामा 'लर्डस' अर्थात क्रिकेटको 'मक्का' पुल बन्दै आएको छ । लर्डसलाई 'होम अफ क्रिकेट' भन्ने गरिन्छ । जहाँ गएर खेल्नु एसोसियट मात्र हैन टेष्ट राष्ट्रका खेलाडीको लागि पनि सपना हुने गर्छ ।
लर्डसमा नेपालले दुई बर्षअघि पहिलोपटक खेल्ने मौका पाएको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा नेपालले क्रिकेटको पवित्र भूमिका टेक्ने मौका पाएको थियो । लर्डसमा पहिलो पाइला राख्दा नेपालले विश्वकै पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई ४१ रनले पराजित गरेको थियो ।
लर्डसमा पहिलो पाइला राखेको ठ्याक्कै दुई बर्षपछि नेपाली क्रिकेट पुन: लर्डस पुगेको छ । र, नेपालले आइतबार लर्डसमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । जसमा नेपालसहित नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले खेल्नेछ । संयोग भनौ, नेपालले दुई बर्षअघि पनि साउन अर्थात जुलाई महिनामै खेलेको थियो ।
आइतबार लर्डसमा त्रिकोणात्मक सिरिजका लागि मैदान उत्रदा नेपाललाई अर्को अवसर हुनेछ । नेपालको लागि मात्र हैन अन्य एसोसियट राष्ट्रको लागि समेत यो महत्वपूर्ण अवसर हुनेछ । नेपालको सहभागिताले अन्य एसोसियट राष्ट्रको लागि ढोका खुल्ने छ ।
लर्डसमा एसोसियट राष्ट्रले बिरलै खेल्ने मौका पाउछन् । दुई पटक लर्डसमा खेल्न पाउने भाग्यमानी एसोसियट राष्ट्र नेपाल हो । त्यसैले नेपालले यसलाई ठुलो अवसरको रुपमा लिएको छ । नेपाली टोलीका कप्तान पारस खड्काको आशय त्यस्तै छ ।
'पक्कै पनि धेरै उत्साहित छौं । यो क्रिकेटको घर हो । हामीले अर्को अवसर पाएका छौ । दुई बर्षअघि हामीले यहाँ खेलेका थियौं । त्यो अवसर अद्भुत रह्यो,' कप्तान पारसले लर्डससंग भनेका छन्, 'यो पटक हामी त्रिकोणात्मक सिरिज खेल्दै छौं । एक क्रिकेट खेलाडीको नाताले भन्ने हो भने धेरै उत्साहित छु ।'
लर्ड्सले निकालेको खेल तालिका अनुसार सिरिजको पहिलो खेलमा एमसिसी र नेदरल्याण्डबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार २:४५ मा सुरु हुनेछ । यस्तै नेपाली समय अनुसार बेलुका ५:५५ मा हुने खेलमा एमसिसी र नेपालले खेल्ने छन् । सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र नेदरल्याण्डले खेल्ने छन् । नेपाल र नेदरल्याण्डबीचको खेल राति ९:०५ मा सुरु हुनेछ ।
यो खेललाई लिएर नेपाली युवा स्पिनर सन्दीप लामिछाने निकै उत्साहित छन् । सन्दीप भन्छन्, 'क्रिकेटको घरमा खेल्न पाउनु मेरो लागि बिशेष क्षण हो । अझ नेदरल्याण्डविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै छु । त्यसैले म निकै उत्साहित छु ।'
त्यसो त सन्दीप लर्डसमा सबैभन्दा बढी खेल्न पाउने भाग्यमानी खेलाडी बन्ने छन् । दुई बर्षअघि नेपाली टोलीबाट लर्डसमा खेलेका सन्दीपले गत जेठमा वेष्ट इण्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को विश्व ११ बाट खेलेका थिए । सन्दीपको लर्डसमा यो तेस्रो भ्रमण हुनेछ ।
एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट १ र ३ मा ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।