काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल १४ औं स्थानमा यथावत रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको थियो ।
नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १२८ रेटीङ अंक पाएको छ ।
नेपालले आईसीसी विश्वकप एसिया छनोट खेल खेलेपछि अन्य अन्तराष्ट्रिय खेल खेलेको छैन । साे प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो ।
एसोसियट राष्ट्रको टी-ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् ।
महिलाको टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत रहेका छन् ।
महिलाको एकदिवसीय वरियतामा भने नेपाल अटाउन सकेको छैन ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।
नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५८ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८३ औं स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९२ औं स्थानमा रहेकी छिन् ।