काठमाडौं । पोखरा पल्टनले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को अन्तिम खेलमा जित निकालेको छ ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले सान्त्वना जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य पोखराले १७ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
पोखराको जितमा कविता कुँवरले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै बिन्दु रावलले ४० रन जोडिन् ।
ललितपुरकी ममता चौधरी र नेरी थापाले २/२ विकेट लिईन् ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
ललितपुरका लागि ममता चौधरीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाईन् ।
पोखराकी सिता राना मगरले २ विकेट लिईन् ।
जितसँगै पोखराले एक जितसहित प्रतियोगिताको अन्त्य गरेको छ । अन्तिम खेलमा जित निकाले पनि पोखरा प्ले अफमा पुग्न सकेन् ।
ललितपुर भने जितविहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा चितवन राइनोज फाइनल पुगिसकेको छ । यस्तै क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्स भने लिमिनेटरमा पुगेका छन् ।
अब काठमाडौं र विराटनगरले मंगलबार हुने लिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन् । विजेताले बिहिबार हुने फाइनलमा चितवनको सामना गर्नेछ ।