काठमाडौं । क्याट क्विन्स काठमाडौं राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको प्ले अफमा पुगेको छ ।
आइतबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १०६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । उनको यो दोस्रो अर्धशतक हो ।
यस्तै काठमाडौंको लागि रोमा थापाले १८ रन जोड्दा रश्मी चौलागाईले ९ र अप्सरी बेगमले अविजित ७ रन जोडिन् ।
ललितपुरकी सम्झना खड्का र अलिसा केसीले १/१ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
ललितपुरका लागि रोशनी बोहराले अविजित रहदै २९ रन जोडिन् । यस्तै नेरी थापाले २२ रन जोड्दा ममता चौधरीले १५ रन जोडिन् । गीता गोसाईले १३ रन बनाईन् ।
काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिईन्। सरस्वती कुमारीको नाममा एक विकेट रह्यो ।
जितसँगै काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा छ । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
चितवन राइनोज यसअघि नै प्ले अफमा पुगिसकेको छ ।
लिगको शीर्ष टिम फाइनलमा पुग्ने छ । यस्तै दोस्रो र तेस्रो टिमले भने फाइनल प्रवेशको लागि एलिमिनेटर खेल खेल्ने छन् ।