काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना निकालिएको छ । खुल्ला प्रतिष्पर्धाबाट लोगो छनोट गर्न एन्फाले शनिबार सार्वजनिक सूचना निकालेको हो ।
एन्फाले आफ्नो लोगोसहित राष्ट्रिय फुटबल टोलीको लोगो र राष्ट्रिय टिमको जर्सी डिजाइनको लागि विज्ञापन निकालेको हो । एन्फाले यी तीनै कुराको डिजाइनको लागि अगष्ट १० सम्म समय तोकेको छ ।
एन्फाले अगष्ट १० भित्र आएकोमध्ये उत्कृष्ट एक लोगो र डिजाइनलाई छनोट गर्नेछ । जुन लोगो एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछन् । एन्फाले उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार रुपैयाँ दिनेछ ।
एन्फाले लोगो र जर्सी डिजाइनको लागि मापदण्ड समेत तोकेको छ । लोगो जीवन्त, आकर्षक हुनुको साथै नेपाल र नेपाली फुटबलको प्रतीक झल्कनु पर्नेछ ।
यस्तै लोगो र जर्सी अन्तराष्ट्रिय स्तरको हुनु पर्नेछ । लोगोमा कपीराइट लाग्ने कुराहरु प्रयोग गर्न पाइने छैन । रंगीन डिजाइनको लोगो र जर्सीमा चार भन्दा बढी रङको प्रयोग गर्न पाइने छैन ।
त्यस्तै डिजाइन गरिसकेको लोगो उच्च क्वालिटीको हुनुका साथै वाटरमार्क हाल्न पाइने छैन ।