एजेन्सी । आयरल्याण्ड र नेदरल्याण्डले युएईमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटमा विजयी सुरुवात गरेका छन् ।
दुबईमा शुक्रबार हङकङलाई ८ विकेटले हराउँदै आयरल्याण्डले सुखद सुरुवात गरेको हो ।
हङकङले दिएको १५४ रनको लक्ष्य आयरल्याण्डले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । आयरल्याण्डको जितमा एन्डी बल्ब्रिनेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पाउल स्ट्रीलिङले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी टेक्टरले अविजित २१ रन बनाए । हङकङका अजिज खानले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५३ रन जोडेको थियो । हङकङका किन्चित शाहले ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरुन अर्सादले २० रन बनाए । आयरल्याण्डका मार्क अडिअरले २ विकेट लिए ।
यस्तै अर्को खेलमा नेदरल्याण्डले केन्यालाई ३० रनले हराएको छ ।
नेदरल्याण्डले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । केन्याका कोलिन्स अबुयाले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै राकिप पटेलले २६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरेनले ३ तथा फ्रेड क्लासेनले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । नेदरल्याण्डको लागि म्याक्स ओ'डोडले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बेन कोपरले ३६, पिटर शेलरले अविजित २४ तथा भान डेर मेर्वीले अविजित २१ रन जोडे । केन्याका कोलिन्स अबुयाले २ विकेट लिए ।
जितसँगै समूह 'ए' को नेदरल्याण्डले २ अंक जोडेको छ । यस्तै समूह 'बी' को आयरल्याण्डले पनि २ अंक जोडेको छ ।
सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।