एजेन्सी । स्टानिस्लाभ चर्चेसोभ सन् २०२० को यूरोकपसम्म रुसको मुख्य प्रशिक्षक रहने भएका छन् । प्रशिक्षक चर्चेसोभले रुस फुटबल फेडेरेसनसंग थप दुई बर्षको लागि नयाँ सम्झौता गरेका छन् ।
घरेलु मैदानमा सम्पन्न विश्वकपमा टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि रुसी प्रशिक्षक चर्चेसोभले थप दुई बर्षको लागि प्रशिक्षण पदमा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासंगै दुई बर्षपछि हुने यूरोकपमा रुसका प्रशिक्षक चर्चेसोभ नै हुने छन् । सन् २०२० को यूरोकप युरोपका १२ राष्ट्रमा हुनेछ ।
चर्चेसोभसंग नवीकरण सम्झौतामा हस्ताक्षर पछि रुस फुटबल फेडेरेसनले चर्चेसोभको नेतृत्वमा रुसी टिमले उच्च प्रदर्शनको भरोसा राखेको बताएको छ । 'चर्चेसोभ र उनको टोलीलाई फेडेरेसनले पूर्ण रुपमा विश्वास र भरोसा राखेको छ,' फेडेरसनक कार्यबाहक अध्यक्ष एलेक्जेन्डर अलेभले भनेका छन्, 'हामीले रुसको शानदार जित र महत्वपूर्ण उपलब्धिको आशा राखेका छौं ।'
रुसका पुर्व गोलकिपर समेत रहेका प्रशिक्षक चर्चेसोभले सन् २०१६ बाट रुसी टोली सम्हाल्दै आएका छन् । घरेलु भूमिमा सम्पन्न विश्वकपमा चर्चेसोभको प्रशिक्षणमा रहेको रुसले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा क्रोएसियासंग पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित हुँदै रुस विश्वकपबाट बाहिरिएको थियो ।