एजेन्सी । सिंगापुरले युएईमा सुरु टी-ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई २ रनले पराजित गर्दै सिंगापुरले सुखद सुरुवात गरेको हो ।
दुबईमा सिंगापुरले दिएको १६९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।
स्कटल्याण्डका जर्ज हुन्सेले सर्वाधिक ४६ रन जोड्दा कलम म्याकलिडले ४४ रन बनाए । कप्तान केली कोट्जरले ३८ रन बनाए ।
सिंगापुरका विजय कुमारले ३ विकेट लिए । यस्तै अम्जाद महबुब र सिदान्त सिंहले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन बनाएको थियो । सिंगापुरको लागि सुरेन्द्ररन चन्द्रमोहनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अरित्र दत्तले ३२ तथा मनप्रित सिंहले २६ रन जोडे ।
स्कटल्याण्डका जोस डेभि र सफ्यान सरिफले २/२ विकेट लिए ।
जितसँगै सिंगापुरले १ खेलमा २ अंक जोडेको छ ।
सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रको सहभागिता रहेको छ । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।