काठमाडौं । चितवन राईनोजले महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गर्दै चितवनले दोस्रो जित निकालेको हो ।
चितवनले दिएको १३६ रनको मध्यम लक्ष्य पछ्याएको ललितपुर १७ ओभर १ बलमा अलआउट हुँदै ४६ रनमा समेटियो ।
ललितपुरकी नेरी थापाले सर्वाधिक १७ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
ललितपुरलाई सस्तैमा समेट्न चितवनकी कविता गौतमले ३ विकेट लिए । यस्तै ऋतु कनोजियाले २ विकेट लिईन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनाएको थियो ।
चितवनका लागि ऋतु कनोजियाले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५५ बलमा ८ चौका प्रहार गरिन् ।
यस्तै प्रिया चौधरीले अविजित २२ रन जोडिन् । त्यस्तै काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रन जोडिन् ।
ललितपुरकी नेरी थापाले २ विकेट लिईन् ।
जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । चितवन लिगको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा चितवनले क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।
ललितपुरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर विराटनगर टाईटन्ससँग ४ विकेटले पराजित भएको थियो ।