काठमाण्डौं । स्पेनमा हुने डोनास्टिक कप फुटबल खेल्न जाने रारा फुटबल क्लबको महिला खेलाडीहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । थ्रीस्टार क्लबका पुर्व प्रशिक्षक प्रदिप हुमागाईले सहयोग स्वरूप उपलब्ध गराएको ट्रयाक सुट बिहिबार रारा फुटबल क्लबलाई प्रदान गरिएको हो ।
रारा क्लबका टिम म्यानेजर प्रकाश कुमार शाहीको पहलमा हुमागाईले ट्रयाक सुट सहयोग गरेका हुन् । हुमागाई हाल अमेरिकामा रहेका छन् । उक्त ट्रयाक सुट नेपाली कांग्रेसका युवा नेता तथा संसद गगन थापाले प्रदान गरेका थिए ।
स्पेनको सानसबस्टेनमा हुने डोनास्टिक कप फुटबलका लागि रारा क्लबका किशोरीहरू २८ जुनमा त्यसतर्फ जाने छन् । आगामी जुलाई १ देखि ७ सम्म हुने प्रतियोगितामा रारा क्लबले चार खेल खेल्नेछन् ।
फुटबल फेस्टिबलका रूपमा रहेको प्रतियोगितामा ३० देशका ३३ भन्दा बढी टिमले खेल्ने छन् ।