काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा चितवन राईनोजले ललितपुर फाल्कोन्सलाई जितका लागि १३६ रनको मध्यम लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनायो ।
चितवनका लागि ऋतु कनोजियाले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५५ बलमा ८ चौका प्रहार गरिन् ।
यस्तै प्रिया चौधरीले अविजित २२ रन जोडिन् । त्यस्तै काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रन जोडिन् ।
ललितपुरकी नेरी थापाले २ विकेट लिईन् ।
आज चितवन लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चितवनले क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।
ललितपुर भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा ललितपुर विराटनगर टाईटन्ससँग ४ विकेटले पराजित भएको थियो ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत बिहिबारबाट हरेक दिन दुई खेल हुनेछ । बिहिबार काठमाडौंले पोखरा पल्टन तथा ललितपुर फाल्कोन्सले विराटनगर टाईटन्ससँग खेल्नेछ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।