काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को दोस्रो दिन बिहिबार दुई खेल भयो ।
पहिलो खेल क्वाट क्विन्स काठमाडौंले पोखरा पल्टनको थियो भने दोस्रो खेलमा विराटनगर टाईटन्सले ललितपुर फाल्कोन्ससँग प्रतिस्पर्धा गरेको थियो ।
काठमाडौंले दोस्रो खेल खेल्दै थियो भने अन्य टिमको पहिलो खेल थियो । डब्लुसीएलको दोस्रो दिन काठमाडौं र विराटनगरले जित हात पार्यो । र, दुवै टिमलाई जित दिलाउन १/१ खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । अर्थात् दुवै टिम एक खेलाडीको शानदार प्रदर्शनले जित निकाल्न सफल भयो ।
काठमाडौंको जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन् । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब सुरुवात गरेको थियो । तर, २ ओभरमा २ विकेट गुमाएको काठमाडौंका लागि रुबिनाले कप्तानी इनिङ्स खेलिन् ।
६७ बलमा १४ चौका र २ छक्का प्रहार गरेकी रुबिनाले अविजित रहदै ८३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । जसको कारण काठमाडौंको स्कोर १ सय ५२ पुगेको थियो । जुन स्कोर जारी प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर हो । काठमाडौंका अन्य खेलाडीले सामान्य प्रदर्शन गरे । पोखराकी अनुराधा चौधरीले ४ विकेट हात पर्दा खराब स्थितिमा पुगेको काठमाडौंको इनिङ्स उकास्ने काम रुबिनाले नै गरेकी थिइन् । खेलमा प्लेअर अफ द म्याच रुबिना घोषित भईन् ।
जवाफी ब्याटिङमा आएको पोखरा १६ ओभर ५ बलमा ७० रन जोड्दा अलआउट भयो । उसका ५ खेलाडी रन आउट भएका थिए । उत्कृष्ट फिल्डिङको नमुना प्रस्तुत गरेको काठमाडौंले लिगमा पहिलो अंक समेत जोड्न सफल भयो । पहिलो खेलमा काठमाडौं चितवन राइनोससँग पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा पनि अर्धशतकीय इनिङ्स देख्न पाइयो । विराटनगरलाई जित दिलाउन ज्योति पाण्डेले अर्धशतकीय इनिङ्स खेलिन् ।
ललितपुरले दिएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा ज्योतिले ४३ बलमा ६५ रनको अर्धशतकीय इनिङ्स खेल्न १० चौका र १ छक्का प्रहार गरिन् ।
ज्योतिले पहिलो विकेटका लागि सोनु खड्कासंग ८३ रनको साझेदारी गरिन् । सोनु २६ बलमा २४ रन जोड्दा आउट भईन् ।
१० औं ओभरमा पहिलो विकेट गुमाएको विराटनगरले खेल सहजै जित्ने अनुमान गरेका थिए । तर, ममता थापाको उत्कृष्ट फिल्डिङमा सोनु आउट भएपछि भने विराटनगर धर्पमराएको थियो ।
पहिलो विकेट गएपछि थप २६ रन जोड्दा विराटनगरले ५ विकेट गुमायो । तर, सम्हालिएको प्रदर्शन गर्दै विराटनगरले जित निकाल्यो । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले ललितपुरले १ सय २३ रनको योगफल तयार गरेको थियो ।
निकै रोमान्चक बनेको खेलमा ज्योति प्लेअर अफ द म्याच घोषित भईन् ।
पछिल्लो दुई वर्षबाट राष्ट्रिय टिमबाहिर रहेकी ज्योतिले यस प्रतियोगितामा भने पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरिन् ।
'मैले जस्तो अभ्यासमा गर्ने गरेको थिए त्यही सट खेलेको कारण आज सफलता मिलेको हो ।' खेल पछि ज्योतिले भनिन्, 'सुरुवात राम्रो भएको बेलामा पनि गलत सट खेल्दा आउट भए ।'
ज्योति फेरी राष्ट्रिय टिममा पुनरागमन गर्ने योजनामा छिन् । उनि सागका लागि २५ खेलाडीको क्याम्पमा समेत रहेकी छिन् ।
पहिलो खेलको अर्धशतकले उनलाई थप आत्मविश्वास बढेको छ ।
'म खेल अघि नै पूर्ण विश्वस्त थिए। यसले आत्मविश्वास बढाउन मद्दत गरेको छ,' ज्योतिले थपिन् ।