दार्चुला । छपारी क्लब दार्चुलामा जारी पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सकार क्रिकेट मैदानमा बिहिबार भएको खेलमा दुहु-०२ लाई ७० रनले पराजित गर्दै छपारीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
छपारीले दिएको १५७ रनको लक्ष्य पछ्याएको दुहुले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । दुहुका लागि करण डडालले २८ रन बनाए । भुपेन्द्र बडाल र मनोज बडालले समान १२/१२ रन जोडे ।
छपारीका प्रेम कार्की, दिनेश कार्की र हेमन्त कार्कीले समान २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको छपारीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । छपारीका लागि दिनेश कार्कीले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा पारस कार्कीले ३३ रन बनाए । प्रेम कार्कीले २३ रन जोडे ।
दुहुका महेश बडालले २ विकेट लिए ।
यस्तै अर्को खेलमा ब्यासले जित निकाल्दै सेमीफाइनलमा स्थान बनाएको छ । ब्यासले दुहु-०३ लाई ६ विकेटले पराजित गर्यो ।
दुहुले दिएको १०८ रनको लक्ष्य ब्यासले ११ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ब्यासको जितमा शेखरले ३२ तथा रुप सिंह खातीले २९ रन बनाए । दुहुका नरेश बोहराले २ विकेट लिए ।
यसअघि दुहुले १५ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो । दुहुका लागि नरेश बोहराले ३२ रन बनाए ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।