काठमाडौं । क्वाट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पहिलो जित निकालेको छ ।
बिहिबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटियो ।
पोखराका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २/२ विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ८३ रनको अर्धशतकीय इनिङ्स खेले । ६७ बलको सामना गरेकी रुबिनाले १४ चौका र २ छक्का प्रहार गरिन् । जारी लिगमा यो पहिलो अर्धशतक समेत हो ।
यस्तै काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन ।
पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।
जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो । पोखराको यो पहिलो खेलमा पहिलो हार हो ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।