काठमाडौ । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल)मा दोस्रो दिन आज (बिहिबार) दुई खेल हुदैछ ।
काठमाडौंको कीर्तिपुरस्थित हुने त्रिवि मैदानमा हुने खेलमा क्वाट क्विन्स काठमाडौं र पोखरा पल्टन्स तथा ललितपुर फाल्कोन्स र विराटनगर टाईटन्सले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो खेलमा काठमाडौं र पोखरा बिहान साढे ९ बजे भिड्नेछन् ।
उद्घाटन खेलमा काठमाडौंलाई चितवन राईनोजले ५ विकेटले हराएको थियो ।
राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री नेतृत्वको काठमाडौं पहिलो जितको खोजीमा हुनेछ ।
प्रतियोगिताको पहिलो खेल खेल्न लागेको पोखरा पल्टन समेत सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । पोखराको नेतृत्व अनुभवी खेलाडी सिताराना मगरले गर्नेछिन् ।
यस्तै, विराटनगर र ललितपुर दोस्रो खेलमा दिउँसो साढे १ बजे मैदान उत्रनेछन् ।
विराटनगर सरिता मगर र ललितपुर नेरी थापाको नेतृत्वमा मैदान उत्रनेछ । दुवै टिम सफल सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पाँच टिमको सहभागीता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर सहित ५० हजार पाउनेछ ।