काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले यस सिजन कर्नाटका टुसकेर्सबाट टी-१० क्रिकेट लिग खेल्ने भएका छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि जारी ड्राफ्टबाट लेग स्पिनर सन्दीपलाई कर्नाटकाले पहिलो चरणमा लिएको छ ।
विदेशी कोटामा अनुबन्धित भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपको टिम कर्नाटकाको आईकोनिक खेलाडीमा दक्षिण अफ्रिकाका हसिम अमला रहेका छन् ।
सन्दीपले गत सिजन केरला किङसबाट खेलेका थिए ।
आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।
सन्दीप हालै इंग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका थिए । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।
एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ । सन्दीप विदेशी कोटामा ड्राफ्टमा परेका हुन् ।