दार्चुला । महाकाली वडा नम्बर १ र दुहु क्लब दार्चुलामा जारी पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सकार क्रिकेट मैदानमा बुधबार भएको खेलमा महाकालीले शैल्यशिखरलाई ११४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
महाकालीले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको शैल्यशिखर ११ ओभरमा अल आउट हुँदै ८३ रनमा समेटियो । शैल्यशिखरका सुरेश बिष्टले सर्वाधिक २६ रन बनाए । महाकालीका हरिस खडायतले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको महाकालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । महाकालीका लागि गौतम धामीले ९० रनको अर्धशतकीय इनिङ्स खेले । शैल्यशिखरका जगदीश धामीले २ विकेट लिए ।
यस्तै दुहुले धापलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
धापले दिएको १०७ रनको लक्ष्य दुहुले १४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । दुहुको लागि जगदीश बडालले २७ तथा जनक बडालले २४ रन बनाए । धापका मदन रैखोलाले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको धापले निर्धारित ओभरमा १० विकेट गुमाएर १०६ रन बनाएको थियो । उसका लागि दिपक रैखोलाले १७ तथा मदन रैखोलाले १५ रन बनाए । धापका जनक बडालले ३ विकेट लिए ।
अर्को खेलमा छपारीले मुल्लालाई १० विकेटले हराएको छ । मुल्लाले दिएको ३३ रनको लक्ष्य छपारीले ३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गरे । छपारीका चरन कार्कीले ११ र गगन कार्कीले ८ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको मुल्लाले ७ ओभरमा अलआउट हुँदै ३२ रन बनायो । मुल्लालाई सस्तैमा समेट्न छपारीका पारस कार्कीले ६ विकेट लिए ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।