ललितपुर । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टिम आर्मीले काठमाडौलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीले काठमाडौंलाई ८–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा दिपा राईले ह्याट्रिक गरिन् ।
प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा आर्मीले जिल्ला फुटबल संघ काठमाडौंलाई फराकिलो अन्तरले हरायो । ४४ औ मिनेटमा पहिलो गोल गरेकी दिपाले पहिलो हाफको इन्जुरी समयमा दोस्रो र ५३ औ मिनेटमा ह्याट्रिक पुरा गरिन् ।
आर्मीको एकतर्फी जितमा कृण्ण खत्रीले २ तथा बिमला बिके, इन्दिरा राई र कविता धिमाल राईले एक एक गोल गरे । जितपछि आर्मीले २ खेलबाट ६ अंक जोडेको छ ।
तालिकामा अंक विहिन काठमाडौं लगातार दोस्रो खेलमा फराकिलो अन्तरले पराजित भएको छ ।