ललितपुर । विभागीय टोली एपीएफ क्लबले राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले रौतहटलाई ७ - ० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । पहिलो हाफमा १ गोल गरेकी सावित्राले दोस्रो हाफमा तीन गोल गरेकी थिइन् । यस्तै सरु लिम्बुले दुई गोल गर्दा अनिता बस्नेतले एक गोल थपिन् ।
एपीएफको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा एपीएफले काठमाडौंलाई हराएको थियो । जितसंगै एपीएफले ६ अंक जोडेको छ ।
रौतहटको यो पहिलो हार हो । लिगमा रौतहटको पनि ६ अंक रहेको छ । पहिलो खेलमा रौतहटले काठमाडौ र दोस्रो खेलमा पुलिसलाई हराएको थियो ।