एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीरले विराट कोहली भारतीय क्रिकेटकै उत्कृष्ट कप्तान रहेको बताएका छन् ।
गम्भीरले पूर्व कप्तान महेन्द्र सिंह धोनी र सौरभ गांगुली भन्दा विराट उत्कृष्ट कप्तान रहेको दाबी गरेका छन् । विराटको निडरपनले उनलाई पूर्व कप्तान धोनी र गांगुली भन्दा उत्कृष्ट बनाएको गम्भीरको भनाई छ ।
'हार देखि डराउनेले कहिले जित्दैन, त्यसैले विराट निडर रहन्छन्,' गम्भीरले भनेका छन्, 'हामीले गांगुली, धोनी, द्रभिडको कुरा गर्छौं तर विराटको कप्तानीले भारतको विदेशी भूमिमा समेत जितको लयलाई परिवर्तन गरिदिएको छ ।'
गम्भीर र कोहलीबीच खासै राम्रो सम्बन्ध छैन । दुईबीचको मनमुटाबको घटना बेला मौकामा बाहिर आउने गरेको छ । तर, हालै विराटको कप्तानीमा भारतले कीर्तिमानी प्रदर्शन गरेपछि गम्भीरले उनको प्रशंसा गरेका हुन् ।
'विराटले ठुलो चुनौती उठाउने गरेका छन् जुन पूर्व कप्तानहरुले अपनाउन सकेका थिएनन्,' गम्भीरले थपे, 'अन्य कप्तानले सक्दो ब्याट्सम्यानलाई टिममा राख्थे ताकी खेलमा हार्नु नपरोस तर विराटले विदेशी भूमिमा समेत ५ बलरको प्रयोग गर्ने गरेका छन् ।'
आइतबार विराटको कप्तानीमा भारतले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा कब्जा जमाएको थियो । ३ खेलको टेष्ट सिरिजमा पहिलो २ खेल जित्दै भारतले एक खेल अगाबै सिरिज कब्जा गरेको हो ।
यो सिरिज जितेसँगै भारतले घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्दै कीर्तिमान बनाएको थियो । भारत घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्ने पहिलो टिम बनेको हो ।
सन् २०१४ देखि विराटले टेष्ट क्रिकेटको कप्तानी गर्दै आएका छन् र घरेलु टेष्टमा उत्कृष्ट नतिजा हात पार्दै आएका छन् । विराटको कप्तानीमा भएको टेष्ट सिरिजमा भारत मात्र २ सिरिजमा पराजित भएको छ ।