एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इन्ग्लिश क्लब आर्सनललाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा एट्लेटिकोले आर्सनललाई पेनाल्टी सुटआउटमा ३ – १ ले पराजित गरेको हो ।
सिंगापुरमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा डेब्यु किपर एन्टोनिओ एडन नायक बन्दा एट्लेटिकोले जित निकालेको हो ।
यसै सिजन क्लब आएका एडनले आर्सनलका तीन पेनाल्टी रोकेका थिए भने पेनाल्टीमा एक गोल गरेका थिए । उनी स्पेनिस क्लब रियल बेटिसबाट एट्लेटिको आएका थिए ।
एडनले आर्सनलका हेनरिक मिखीटेरियन, जोसेफ विललक र एडवार्डको प्रहार बचाएका थिए । एट्लेटिकोका लागि एडनसहित, रोड्रिगो र भिक्टो मालेजोले गोल गरेका थिए । आर्सनलका मटल्याण्ड नाइल्सले मात्र एक गोल गरे ।
आर्सनलविरुद्ध एट्लेटिको दोस्रो रोजाइका खेलाडीसहित मैदान उत्रेको थियो । तर, खेलको ४१ औं मिनेटमा लुसियानो भिएट्टवको गोलबाट एट्लेटिकोले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ४७ औं मिनेटमा आर्सनलका एमिल स्मिथ रोवेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन अघि प्रि सिजन तयारीमा रहेका दुवै टोली हाल सिंगापुरमा रहेका छन् ।