काठमाडौं । पन्ध्र दिनको अन्तरमा नेपालको राष्ट्रिय क्रिकेट टिमले दुई देशमा दुई फरक सिरिज खेल्ने मौका पायो । इतिहास हेर्ने हो भने, छोटो समयमा फरक देशमा दुई स्तरीय सिरिज खेल्न पाएको नेपाली क्रिकेटले पहिलो पटक हो ।
त्रिकोणात्मक र पाँच देशीय दुई सिरिजलाई नेपालले युवा खेलाडीलाई परिक्षण र स्तर मापन गर्ने अवसरको रुपमा लिएको थियो ।
अनुभबी खेलाडी शरद भेसवाकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल जस्ता स्टार खेलाडीबिनै सिरिज खेल्न सिंगापुर हिडेको नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व थियो ।
सिरिज अन्तर्गत ७ खेलमा आरिफ शेखले बाहेक अन्य युवा खेलाडीले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । सात खेल मध्य ६ खेलमा आरिफले तेस्रो स्थानमा रहेर ब्याटिङ गरे ।
उनले दुवै सिरिजमा १ सय ४१ रन बनाए । उनले कप्तान पारस खड्कासंग एक ईनिङ्समा कीर्तिमानी रनको साझेदारी समेत गरेका थिए ।
डेब्यु खेलाडी मध्य इशान पाण्डेले ४ खेलमा ओपनिङ गरे । उनले मात्र ३३ रन बनाए । टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध ३० बलमा बनाएको २२ रन उनको सर्वाधिक स्कोर रह्यो । फिल्डिङतर्फ इशानको प्रदर्शन उत्कृष्टनै रह्यो ।
अर्का डेब्यु खेलाडी कुशल मल्लले सिंगापुरमा ३ खेल खेल्ने मौका पाए । दुई इनिङ्स ब्याटिङ गरेका मल्लले ७ रन बनाए । सिंगापुरविरुद्ध बनाएको ५ रन सर्वाधिक रह्यो ।
अर्का डेब्यु खेलाडी सुशन भारीले ३ खेल खेल्ने मौका पाए । डेब्यु खेलमा जिम्बाबेविरुद्ध १ विकेट हात पार्दा अन्य खेलमा विकेट बिहिन रहे । उनले दुई इनिङ्स ब्याटिङ गर्दा खातानै खोल्न सकेनन् ।
बर्षको सुरुवातमा युएई भ्रमणमा कीर्तिमान बनाएका सन्दीप जोराले सिंगापुर सिरिजमार्फत राष्ट्रिय टिममा कमब्याक गरेका थिए ।
सिरिजमा उनले ३ खेल खेल्ने मौका पाए तर उनले आफुलाई पुन प्रमाणित गर्न भने सकेनन् । तीन खेलमा ब्याटिङ गरेका उनले मात्र १९ रन बनाउन सके ।
ओपनरका विकल्पमा हेरिएका अर्का युवा खेलाडी पवन सर्राफले समेत प्रभाब जमाउन सकेनन् । तीन खेलमा कप्तानसंग ओपनिङ गरेका पवनले मात्र १९ रन जोड्न सफल भए ।
यस्तै, एक दिवसीय क्रिकेटका भरपर्दा युवा खेलाडी रोहित कुमार पौडेलले दुई खेलमा मात्र १० रन बनाउन सफल रहे ।
यसरी हेर्दा नेपाली युवा खेलाडीले दुई सिरिजमा राम्रो अनुभब बटुलेका छन् ।
आफुले गरेको गल्तीलाई सुधार्ने मौका सायदै खेलाडीले अर्को पटक पाउनेछन् ।
कप्तान पारस खड्का भने युवा खेलाडीले सक्दो राम्रो खेलेको दाबी गर्छन् ।
‘हामी धेरै अपेक्षा गछौ । तर उनीहरुलाई धेरै दबाब दिनु हुदैन । उनीहरुले यस सिरिजबाट राम्रो अनुभव बटुलेका छन् । यसको प्रभाव आगामी खेलमा देखिनेछ ।’ सिरिज सकेर नेपाल फर्किए लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले भने ।
सिक्नुपर्ने पाठ
दुई सिरिजबाट नेपाली क्रिकेटरले धेरै कुरा सिक्नु जरुरी छ । मैदानमा खेलाडीले लिने अनुभब त छँदै छ, क्रिकेट संघले समेत आयोजक एसोसियट राष्ट्रबाट थुप्रै पाठ सिक्नु पर्ने देखिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को चुनाब सकिएसंगै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ ।
नव निर्वाचित कार्यसमितिले समेत नेपालमा टेष्ट राष्ट्र सहभागी गराएर अन्तराष्ट्रिय सिरिज गराउन हौसला मिलेको हुनुपर्छ ।
दुवै सिरिजमा नेपालको कमजोरी ब्याटिङमै रह्यो । नेपाल ७ मध्य ४ खेलमा पराजितनै रह्यो । सबै खेलमा खराब ब्याटिङनै मुख्य कारण थियो ।
नेपाल फर्किए लगत्तै कप्तान पारस खड्काले नेपाली क्रिकेट र ब्याटिङको ठुलो दुस्मनी जस्तो देखिएको बताएका थिए ।
‘नेपाली क्रिकेट र ब्याटिङको ठुलो दुस्मती जस्तो देखिएको छ ।’ कप्तान खड्काले भनेका थिए, ‘बलरले सधै राम्रो प्रर्दशन गरेका छन् । ब्याटिङमा सुधार गरेको भए सिरिजमा अझ राम्रो नतिजा ल्याउने सम्भावना थियो ।’
तर पाँच देशीय सिरिजमा ओमानबाहेक अन्य देशसंग नेपालले उत्कृष्ट प्रर्दशन गरेको कप्तान पारसको दाबी थियो ।
लामो समय निलम्बनमा रहेको कारण नेपाली क्रिकेटले आईसीसीले खेलाउने प्रतियोगिता बाहेक अन्य प्रतियोगिता तथा सिरिज बिरलै खेल्यो ।
क्यान निलम्बन फुकुवा नभए नेपालले यस्तो मौका पाउन वर्षौ कुर्नु पर्ने छ । सायदै यस्तो अवसर दोहरिनेछ । तर छोटो समयमा भएको स्तरीय सिरिजबाट नेपालले थुप्रै पाठ सिकेको हुनुपर्छ ।