काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान सुधार गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीलाई पछि पार्दै नेपालले वरियतामा एक स्थान सुधार गरेको हो ।
नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत वर्षको फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । उ
एसोसियट राष्ट्रको टी-ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् ।
महिलाको टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।
आईसीसीको टी-ट्वान्टी महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।
नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५८ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८३ औं स्थान रहेकी छिन् ।
बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९२ औं स्थानमा रहेकी छिन् ।