काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको उपाधि जितेको छ ।
आइतबार बिहान भएको फाइनलमा ग्युएना अमेजन वारिवर्सलाई २७ रनले हराउँदै बार्बाडोस च्याम्पियन बनेको हो ।
बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछ्याएको वारिवर्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
वारिवर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन जोडे । यस्तै किमो पाउलले २५ तथा निकोलस पुरणले २४ रन बनाए । बार्बाडोसका रेमन रिफरले ४ विकेट लिए । ह्यारी गुरने र एस्ले नर्सको नाममा २/२ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
बार्बाडोसका जोनाथन कार्टरले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनसन चार्ल्सले ३९ तथा एलेक्स हेल्सले २८ रन बनाए ।
फाइनलमा सन्दीप भने उपस्थित भएनन् । सन्दीप ६ खेल खेलेर राष्ट्रिय टिममा सामेल हुन ओमान आएका थिए ।
सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारे ।