एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा भारतले फराकिलो अग्रता बनाएको छ ।
पुनेमा जारी टेष्टको पहिलो इनिङ्समा भारतले ३२६ रनको अग्रता बनाएको छ ।
भारतले ६०१ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिका १०५ ओभर ४ बलमा अलआउट हुँदै २७५ रन मात्र जोडेको छ । तेस्रो दिन आइतबार भारतले दक्षिण अफ्रिकालाई फलो अनमा पठाउने सम्भावना रहेको छ ।
भारतीय बलर चम्किएपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न सकेनन् ।
निकै खराब स्थितिमा पुगेको दक्षिण अफ्रिकाका लागि केशब महाराजले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान फाप डु प्लेसिसले ६४ रन जोड्दा भेर्नोन पिलान्धरेले अविजित ४४ रन बनाए ।
भारतका रविचन्द्र आश्विनले ४ विकेट लिए । यस्तै उमेश यादबले ३ तथा मोहमद सामीले २ विकेट लिए ।
यसअघि टस जितेर पह्हिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ५ विकेटको क्षतिमा ६०१ रन जोडेको थियो। भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका थिए ।
कोहलीले अविजित रहदै २५४ रनको योगदान गरे । यस्तै मायांक अग्रवालले १०८ रनको शतकीय इनिङ्स खेले । रबिन्द्र जडेजाले ९१ तथा अजिन्का रहानेले ५९ रन बनाए ।
दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिए ।
टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा भारत १-० ले अघि रहेको छ ।