दार्चुला । मल्ल महाकाली र शैल्यशिखरले पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटमा जित निकालेका छन् ।
सकार क्रिकेट मैदानमा शनिबार मल्लले दत्तु 'बी' लाई ६९ रनले पराजित गर्यो ।
मल्लले दिएको १५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दत्तुले १० ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनाउन सक्यो ।
दत्तुका लागि दिपेन्द्र सामन्तले २४ तथा कपेन्द्रले १४ रन बनाए । मल्लका जमानले ३ तथा जगदीशले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले पहिले ब्याटिङ गरेको मल्लले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । मल्लका लागि जगदीशले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै खड्कले २९ रन बनाए । दत्तुका किशनले २ विकेट लिए ।
यस्तै अर्को खेलमा शैल्यशिखरले बाज 'बी' लाई ७४ रनले पराजित गर्यो । शैल्यशिखरले दिएको १४३ रनको लक्ष्य पछ्याएको बाजले १० ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनाउन सक्यो ।
बाजका लागि खगेन्द्र महराले २० रन जोड्दा करण महराले १८ रन बनाए । शैल्यशिखरका जगदीश धामीले ५ विकेट लिए । रोशन कोलि र दिनेश बिष्टले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको शैल्यशिखरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो । शैल्यशिखरका लागि सुरेश बिष्टले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा नरेश बिष्टले १९ रन बनाए । बाजका सुरेन्द्र महराले ३ विकेट लिए ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।