एजेन्सी । ब्रेन ह्यामरेजको सफल उपचारपछि इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनले अस्पताललाई धन्यवाद दिएका छन् । ब्रेन ह्यामरेज भएपछि फर्गुसनको गत मे महिनामा आकष्मिक शल्यक्रिया गरिएको थियो ।
७६ बर्षीय फर्गुसनको सामाजिक संजाल ट्वीटरमा एक भिडियो सन्देश पोष्ट गर्दै अस्पताल र समर्थकहरुलाई धन्यवाद दिएका छन् । ब्रेन ह्यामरेजको उपचारपछि फर्गुसनले पहिलोपटक सार्वजनिक रुपमा बोलेका हुन् ।
स्कटिस फर्गुसनले भनेका छन्, 'म म्याकस्ल्सफिल्ड, साल्फोर्ड रोयल र एलेक्सान्ड्रा हस्पिटलका मेडिकल स्टाफहरुलाई धन्यवाद दिन चाहन्छु । मलाई विश्वास गर्नुहोस्, ती मानिसहरुले मलाई धेरै राम्रो हेरविचार गर्यो । जसको कारण म यहाँ बस्न सकिरहेको छु । म र मेरो परिवारको तर्फबाट तपाईहरुलाई धन्यवाद ।'
ब्रेन ह्यामरेज भएपछि गत मे ५ मा फर्गुसनलाई तत्काल साल्फोर्ड रोयल अस्पताल लगिएको थियो । अस्पताल लैजानसाथ फर्गुसनको आकस्मिक शल्यक्रिया गरिएको थियो ।
यस्तै फर्गुसनले आफ्ना समर्थकहरुलाई समेत धन्यवाद दिएका छन् । आफुलाई विश्वभरबाट सुभकामना सन्देश आएको बताउदै फर्गुसनले भने, 'तपाईहरुको शुभकामना र साथले मलाई बलियो बनाएको छ । तपाईहरुले मलाई दिनु भएको साथको लागि धन्यवाद ।'
म्यानचेस्टर युनाइटेडको सफल प्रशिक्षक फर्गुसनले सन् २०१३ बाट प्रशिक्षण जीवनबाट सन्यास लिएका थिए । फर्गुसनले सन् १९८६ बाट २०१३ सम्म म्यानचेस्टर युनाइटेडको प्रशिक्षक सम्हालेका थिए ।
युनाइटेडमा २६ बर्ष रहदा फर्गुसनले क्लबलाई ३८ उपाधि दिलाएका थिए । फर्गुसनले युनाइटेडलाई १३ प्रिमियर लिग, २ च्याम्पियन्स लिग र ५ एफए कप उपाधि दिलाएका थिए । यस्तै फर्गुसनले ४ लिग कप पनि युनाइटेडलाई दिलाएका थिए ।