ललितपुर । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा आज दुई खेल हुदैछ । पहिलो खेलमा विगागीय टिम एपीएफ र रौतहट तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र काठमाडौंबीच प्रतिस्पर्धा हुदैछ ।
पहिलो खेलमा भिड्न लागेका रौतहट र एपीएफबीचको नतिजाले धेरै हदसम्म उपाधि यात्राको सम्भावनाबारे बोल्नेछ ।
प्रतियोगितामा बलिया देखिएका दुवै टोली अहिलेसम्म अपराजित छन् । पहिलो खेलमा काठमाडौ र दोस्रो खेलमा पुलिसलाई हराएको रौतहटले प्रतियोगितामा बलियो उपाधि दाबेदारीता प्रस्तुत गरेको छ ।
यता, विभागीय टिम एपीएफले काठमाडौंमाथि १० गोल बर्षाउदै अब्बल टोलीको रुपमा आफुलाई प्रस्तुत गरिसकेको छ । रौतहटको लिग तालिकमा ६ अंक छ । रौतहट भन्दा एक खेल कम खेलेको एपीएफको ३ अंक छ ।
दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो एक बजे हुनेछ । आजै हुने अर्को खेलमा विभागीय टिम आर्मी र काठमाडौं भिड्दैछन् ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा काठमाडौं पराजित भएको थियो । पहिलो खेलमा रौतहटसंग पराजित भएको काठमाडौंले दोस्रो खेलमा एपीएफसंग १०–० को हार ब्यहोरेको थियो ।
यता, विभागीय टिम आर्मीले पहिलो खेलमा पुलिसलाई हराएको थियो । आर्मीले एक खेलबाट ३ अंक जोडेको छ । काठमाडौं तालिकामा अंक विहिन छ ।