काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले चौथो अभ्यास खेलमा फराकिलो जित निकालेको छ । बिहिबार भएको टी-ट्वान्टी खेलमा नेपालले इष्ट लन्डन शार्कलाई १३४ रनले हराएको हो ।
लग्घटन क्रिकेट क्लबको मैदानमा नेपालले दिएको २५२ रनको फराकिलो लक्ष्य पछ्याएको इष्ट लन्डन शार्कले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११७ रन बनाउन सक्यो । शार्कका लागि ताकी अब्बासले ३२ तथा हाफिज यावरले २६ रन जोडे । यस्तै अर्शाद हारुनले अविजित १६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा मात्र ४ विकेट गुमाएर २५१ रनको उच्च योगफल तयार गरेको थियो । नेपालको उच्च योगफलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।
नेपालको लागि ओपनर ज्ञानेन्द्रले सर्वाधिक ७५ रन बनाए । ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे । यस्तै कप्तान पारस र दीपेन्द्रले समान ६७/६७ रन जोडे । नेपालका रोहित कुमार पौडेल १२ रनमा अविजित रहे । शार्कका सलिम अकबरले २ विकेट लिए ।
योसंगै नेपालले चार अभ्यास खेलमा तीन जित हासिल गरेको छ । नेपालले बुधबार तेस्रो अभ्यास खेलमा इष्ट लन्डन ११ लाई २२३ रनले हराएको थियो । त्यस्तै नेपालले पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । तर, तेस्रो तथा पहिलो टी-ट्वान्टी खेलमा भने नेपाल सेन्ट क्रससंग १९ रनले पराजित भएको थियो ।
ब नेपालले आइतबार क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।