काठमाडौ । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेट र ब्याटिङको ठुलो दुस्मनी जस्तो देखिएको बताएका छन् ।
सिंगापुर त्रिकोणात्मक र ओमानमा पाँच देशीय सिरिज खेलेर नेपाल फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कप्तान खड्काले सो कुरा बताएका हुन् ।
पाँच देशीय सिरिजमा ओमानबाहेक अन्य देशसंग नेपालले उत्कृष्ट प्रर्दशन गरेको कप्तान पारसको दाबी थियो ।
उनले ब्याटिङ समस्याले गर्दा सिंगापुर र ओमानमा आशा गरिए जस्तो प्रर्दशन गर्न नसकिएको स्विकार गरे ।
उनले पाँच देशीय सिरिजमा आयरल्याण्डलाई हराउनुपर्ने उल्लेख गर्दै फिनिसिङ राम्रो नहँुदा हार्न पुगेको खुलाए ।
‘नेपाली क्रिकेट र ब्याटिङको ठुलो दुस्मती जस्तो देखिएको छ ।’ कप्तान खड्काले भने, ‘बलरले सधै राम्रो प्रर्दशन गरेका छन् । ब्याटिङमा सुधार गरेको भए सिरिजमा अझ राम्रो नतिजा ल्याउने सम्भावना थियो ।’
सिंगापुरमा जिम्बावे सहित त्रिकोणात्मक सिरिज र ओमानमा पाँच देशीय सिरिज खेलेर नेपाली टिम शुक्रबार नेपाल फर्किएको छ ।
कप्तान खड्काले खेलाडीले सक्दो राम्रो प्रर्दशन गरेको बताउँदै दुवै सिरिजले युवा खेलाडीलाई अवसर दिएको उल्लेख गरे ।
‘खेलाडीले सक्ने प्रर्दशन गरे । युवा खेलाडीलाई अवसर थियो ।’ उनले भने, ‘राम्रो प्रर्दशन गरे ठाउँ सुरक्षित गर्ने मौका देखिएको छ । सबै खेलाडीले सिरिजको दौरान धेरै म्याच खेल्ने मौका पाएका छन् ।’
कप्तान पारसले ओपनिङमात्र नभएर समग्र ब्याटिङमै सुधार गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि धेरै कुरा परिवर्तन गर्नुपर्ने धारणा राखे ।
सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल दोस्रो बनेको थियो भने ओमानमा भएको पाँच देशीय सिरिजमा नेपाल तेस्रो स्थानमा रहदै सिरिजको अन्त्य गरेको थियो ।