काठमाडौं । नेपाली राष्ट्रिय त्क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो क्वालिफायरमा ट्रीनबागो नाइट राइडर्सलाई १२ रनले पराजित गर्दै बार्बाडोस फाइनलमा पुगेको हो ।
बार्बाडोसले दिएको १६१ रनको लक्ष्य पछ्याएको नाइट राइडर्स १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रनमा समेटियो ।
नाइट राइडर्सका सेक्कुगे प्रसन्नाले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङस खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले २३ रन बनाए ।
बार्बाडोसका ह्यारी गुरने,हेडेन वाल्श, एस्ले नर्स र रेमन रिफरले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका जोन्सन चार्ल्सले ३५ रन जोडे । यस्तै एस्ले नर्स र रेमन रिफरले समान २४/२४ रन बनाए ।
अब बार्बाडोसले उपाधिका लागि ग्युएना अमेजन वारिवर्ससँग आइतबार खेल्नेछ ।
नेपालका सन्दीप भने खेलमा उपस्थित थिएनन्। पाँच देशीय सिरिजका लागि सन्दीप नेपाली टिमसँग ओमान आएका थिए ।