दार्चुला । शान्तिदिप युवा क्लबको 'बी' टिमले पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको खेलमा किम्ताडी करेन्टलाई ५८ रनले पराजित गर्दै शान्तिदिपले विजयी सुरुवात गरेको हो ।
सकार क्रिकेट मैदानमा शान्तिदिपले दिएको १८४ रनको लक्ष्य पछ्याएको किम्ताडीले पुरै ओभरमा ७ विकेट गुमाएर १२५ रन बनायो । किम्ताडीका राजकुमारले सर्वाधिक २८ रन जोडे । शान्तिदिपका हिक्मत धामी र मनोज बिष्टले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको शान्तिदिपले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८३ रन जोडेको थियो । शान्तिदिपका लागि हिक्मत धामीले १०५ रनको शतकीय इनिङ्स खेले । किम्ताडीका सुरेशले ४ विकेट लिए ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदिप युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।