काठमाडौं । पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
पहिलो ओभरमै विकेट लिदै सन्दीप लामिछानेले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
उनले ओमानका ओपनर ओकीब इलियासलाई शुन्य रनमा पेविलियनको बाटो देखाएका थिए ।
तर, सुरज कुमारले अविजित ४२ रन बनाउँदै ओमानको जितको आधार तयार गरेका थिए । ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।
ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार विकेट गुमाएको थियो ।
ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पेविलियन फर्किएका थिए ।
सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भए ।
ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए ।
पाँच देशीय टी–ट्वान्टी सिरिजमा ओमानले ४ खेलबाट ८ अंक जोड्दै सिरिज कब्जा गर्यो । आयरल्याण्ड ६ अंक सहित दोस्रो स्थानमा रह्यो ।
नेपाल समेत ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्याण्ड २ अंक सहित चौथो र अंक विहिन हङकङ पुछारमा रह्यो ।