एजेन्सी । श्रीलंकाले घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको छ ।
बुधबार राति भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा १३ रनको जित निकाल्दै श्रीलंकाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
लाहोरमा श्रीलंकाले दिएको १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि हरिस सोहिलले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । बाबर आजमले २७ रन बनाए । श्रीलंकाका हसरंगा डी सिल्भाले ३ र लाहिरु कुमाराले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन जोडेको थियो । श्रीलंकाका लागि ओसाडो फर्नान्डोले अविजित ७८ रन बनाए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।
योसँगै श्रीलंकाले टी-ट्वान्टी वरियताका शीर्ष स्थानको टिमविरुद्ध क्लिन स्विप गरेर ऐतिहासिक सफलता हात पारेको छ ।
श्रीलंकाले पहिलो पटक वरियताको शीर्ष टिमविरुद्ध सिरिज क्लिन स्विप गरेको हो । आईसीसीको टी-ट्वान्टी वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।