काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत राष्ट्रिय क्रिकेट टोलीले भोली (बुधबार) आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
ओमानमा जारी सिरिजको तेस्रो खेलमा मैदान उत्रदै गर्दा नेपाललाई ऐतिहासिक जित हासिल गर्ने अवसर छ ।
खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ११ बजे सुरु हुनेछ ।
नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै क्रिकेट ईतिहासमै एतिहासिक सफलता हात पार्न चाहन्छ ।
नेपालको सिनियर टिमले अहिलेसम्म कुनै पनि ढाँचाको अन्तराष्ट्रिय प्रतियोगितामा टेष्ट राष्ट्रलाई पराजित गर्न सकेको छैन ।
नेपालले एकदिवसीय क्रिकेटमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेलेको छैन । टी–२० क्रिकेटमा हालसम्म बंगलादेश र जिम्बावेसँग खेलेको छ ।
सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको थियो ।
बलियो टिम आयरल्यान्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।
आयरल्यान्डका केभिन ओब्रोएन निकै लयामा छन् । उनी तीन खेलमा एक शतकसहित १ सय ८६ रन जोड्दै प्रतियोगिताको सर्वाधिक रनकर्ता हुन् ।
नेपालका विनोद भण्डारी दुई खेलमा एक अर्धशतक सहित ८४ रन जोडेर दोस्रो स्थानमा छन् ।
यसअघि सन् २०१५ मा आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले पहिलो पटक आयरल्यान्डसंग खेलेको थियो । सो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
पहिले ब्याटिङ गरेको नेपाल ५३ रनमा अलआउट भएको थियो । आयरल्यान्डले आठ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।
नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो ।
आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।