एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले इन्ग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
अमेरिकाको न्युजर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २ – १ गोल अन्तरले हराएको हो । प्रि सिजनको तयारीमा रहेको लिभरपुलले सिटीले लिएको अग्रता उल्टाएर जित निकालेको हो ।
लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले समान एक एक गोल गरे । सिटीका लागि लोरी सानेले एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ६३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई २ – १ को जित दिलाए ।
इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत नै जर्मन क्लब बोरुसिया डर्टमण्डलाई बेन्फिकाले पेनाल्टी सुटआउटमा ४–३ ले हराएको छ । निर्धारित ९० मिनेटको खेल २ – २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।