काठमाडौं । पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार हङकङलाई ४ विकेटले हराएको हो ।
अल अम्रेट क्रिकेट मैदानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो ।
नेपालकाे जितमा बिनोद भण्डारीले ५८ रनकाे शानदार अर्धशतकिय इनिङ्स खेले ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको ईनिङ्स आरिफ शेख र बिनोद भण्डारीले उकासेका थिए ।
आरिफ २१ रनमा आउट भए । बिनोदले नटआउट ५८ रन बनाए । ४८ बल खेलेका बिनोदले ४ चौका र ३ छक्काको मदतले सो रन खडा गरेका थिए ।
ओपनर पारस खड्कालाई शुन्य रनमा गुमाएपछि नेपाली टिम दबाबमा आएको थियो ।
अर्का ओपनर पवन सरार्फलाई १० मा गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए ।
सोमपाल कामीले १३ रन जोडेका थिए ।
हङकङका नर्सुल्ला राना र केली क्रिस्टीले २/२ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
हङकङका लागि वाकस बर्कातले सर्वाधिक ३७ रन बनाए । यस्तै किन्चित साहले ३१ तथा निजकात खानले २३ रन बनाए ।
नेपालका करण केसीले ३६ रन खर्चेर ४ विकेट लिए । अविनास बोहराले १ विकेट लिए ।
जितसँगै नेपालले १ खेलमा २ अंक जोडेको छ । र, नेपाल तालिकाको दोस्रो स्थानमा छ ।
हङकङले २ खेलमा अंक जोड्न सकेको छैन । पुछारको हङकङ पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको थियो ।
ओमान २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।
अब नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग सोमबार खेल्नेछ । यस्तै आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।