काठमाडौं । आयोजक ओमानले पाँच राष्ट्रबीचको पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा टेष्ट राष्ट्र आयरल्याण्डलाई ४३ रनले पराजित गर्दै ओमानले लगातार दोस्रो जित निकालेको हो ।
ओमानले दिएको १४७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६ ओभर २ बलमा अलआउट हुँदै १३० रनमा समेटियो ।
आयरल्याण्डको लागि केभिन ओ'ब्रायनले सर्वाधिक ३९ रन जोडे । यस्तै एन्डी बाल्ब्रिनीले १९ र मार्क अडिएरले १८ रन बनाए ।
ओमानका खवर अली र मोहमद नादिमले ३/३ विकेट लिए । अमीर कलीम र बिलाल खानले २/२ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । ओमानका लागि अमीर कलीमले ४६ रन जोड्दा जातिन्दर सिंहले ४० रन बनाए । आकिब इल्यासले २१ रन बनाए ।
आयरल्याण्डका स्टुवार्ड थोम्प्सन र मार्क अडिएरले २/२ विकेट लिए ।
जितसँगै ओमानले २ खेलमा ४ अंक जोडेको छ र तालिकाको शीर्ष स्थान कब्जा जमाएको छ । यस अघि शनिबार भएको पहिलो खेलमा ओमानले हङकङलाई ७ विकेटले पराजित गरेको थियो ।
आयरल्याण्डको यो पहिलो हार हो । आयरल्याण्डले पहिलो खेलमा नेदरल्याण्डलाई ६ विकेटले हराएको थियो । दोस्रो स्थानको आयरल्याण्डले २ खेलमा २ अंक जोडेको छ ।