काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले आज (आईतबार) हङकङसंग खेल्दैछ ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो सावा ३ बजे सुरु हुनेछ ।
नेपालका लागि हङकङ नयाँ प्रतिद्वन्दी हैन । दुवै टिमले टी–ट्वान्टी र एक दिवसीय धेरै खेल खेलिसकेका छन् ।
टी–ट्वान्टीमा मात्र दुवै टोली ७ पटक भिडेका छन् ।
जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा बाजी मारेको छ ।
पहिलो पटक नेपाल र हङकङबीच सन् २०१० को एसियन गेम्समा प्रतिस्पर्धा भएको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८५ रन बनाउन सक्यो र खेलमा ३० रनको हार व्यहोरेको थियो ।
दोस्रो भेट सन् २०१२ को आईसीसी विश्व टी-ट्वान्टी छनोटमा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको अर्धशतकीय इनिङमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
हङकङले जवाफमा ९ विकेट गुमाएर मात्र १ सय २ रन बनायो र नेपाल खेलमा २८ रनले विजयी भयो ।
सन् २०१३ को एसीसी टी-ट्वान्टी कपमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
यस्तै सन् २०१३ को आईसीसी विश्व टी-ट्वान्टी छनोटमा पुन: नेपालले हङकङ माथि विजयी हात पार्यो । हङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
रोमाञ्चक खेलमा कप्तान पारसले ४६ रन बनाउँदा रन आउट भए भने ज्ञानेन्द्र मल्लले ३० तथा सागर पुनले २२ रनको योगदान गरे ।
सन् २०१४ को आईसीसी विश्व टी-ट्वान्टीमा पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा ऐतिहासिक जित हात पार्यो ।
नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा ६९ रन बनाउँदा अल आउट भएको थियो ।
सन् २०१४ को श्रीलंका भ्रमण गरेको नेपाल र हङकङले ५ मैत्रीपूर्ण खेल खेल्ने तालिका भएपनि खराब मौषमका कारण मात्र एक खेलेको थियो । चौंथो खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पुरै विकेट गुमाएर मात्र ७२ रन बनायो ।
जवाफमा ब्याटिङ गरेको हङकङले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । चौंथो खेलमा २ विकेटको जित निकालेको हङकङले सिरिज १-० ले जितेको थियो ।
पछिल्लो पटक टी-ट्वान्टीमा नेपालले हङकङसँग सन् २०१५ मा प्रतिस्पर्धा गरेको थियो । आईसीसी विश्वकप टी-ट्वान्टी छनोट अन्तर्गत भएको खेलमा हङकङ ५ विकेटले विजयी भएको थियो ।
नेपालले दिएको १ सय १० रनको सामान्य लक्ष्य हङकङले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।