काठमाडौं । पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ ।
ओमानकाे अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्नेछ ।
खेल नेपाली समय अनुसार पाैने ३ बजे सुरु हुनेछ ।
हङकङविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल हङकङलाई पराजित गर्न चाहन्छ ।
हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ ।
तर, नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ ।
हङकङपछि नेपालले नेदरल्याण्डसँग सोमबार खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
नेपाल र हङकङबीच हालसम्म ७ पटक टी-ट्वान्टी खेलमा प्रतिस्पर्धा भएको छ ।
जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा बाजी मारेको छ ।