काठमाडौं । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा फराकिलो जित निकालेको छ । बुधबार भएको तेस्रो अभ्यास खेलमा नेपालले इष्ट लन्डन ११ लाई २२३ रनले हराएको छ ।
लग्घटन क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ३३९ रनको फराकिलो लक्ष्य पछ्याएको इष्ट लन्डन ३८ ओभर ५ बलमा अलआउट हुँदै ११५ रनमा समेटियो । इष्ट लन्डनका डारेन आइरनसाइडले ३८ रन जोड्दा आकाश राजीले अविजित २७ रन जोडे । इष्ट लन्डनलाई सस्तैमा समेट्न शक्ति प्रसाद गौचनले ४ विकेट लिए । यस्तै करण केसी र ललित नारायण राजवंशीले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालको उच्च स्कोरमा अनिल कुमार साहले शतकीय पारी खेले । अनिलले ११८ बलमा १३१ रन जोडे ।
यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिए ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले अब बिहिबार अन्तिम अभ्यास खेल्ने छ । नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग बिहिबार टी-ट्वान्टी खेल खेल्नेछ ।
यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए । दोस्रो अभ्यास खेलमा भने नेपाल पराजित भएको थियो । टी - ट्वान्टी अन्तर्गत भएको दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससंग १९ रनले पराजित भएको थियो ।
अन्तिम अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।